पर्सा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल कुमार कानुले वीरगंज महानगरपालिका–छपकैया वडा नं. १ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै नाला, बाढी तथा पहिरोजस्ता दीर्घकालीन समस्याबारे छलफल गरेका थिए । उनले यी समस्याको दीगो समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयवासीहरूले वर्षायाममा नालाको उचित व्यवस्थापन नहुँदा डुबान हुने, बाढी र पहिरोको जोखिम बढ्ने तथा दैनिक जनजीवन प्रभावित हुने गुनासो राखेका थिए । उम्मेदवार कानुले जनताको वास्तविक समस्या पहिचान गरी समाधानमुखी राजनीति गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
घरदैलो कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।