नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ विनयी खोलाको बगरमा पाटेबाघ मृत भेटिएको छ ।
विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । स्थानीय बासिन्दाका अनुसार विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको थियो ।
पानी पिएको स्थानबाट १०-१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको भनेर खबर आएको अधिकारीले बताए । स्थानीय बासिन्दाले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको उनले बताए ।
बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। मृत बाघलाई सब डिभिजन वन कार्यालय दम्किबास लगिएको छ ।
आज परीक्षण गरिने उनले जानकारी दिए। बर्दघाट सुस्तापूर्वमा गत फागुनयता तीन वटा पाटेबाघ मृत भेटिएका छन् ।