पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी (Generation Z) युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आइतबार आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज शेखको नेतृत्वमा चार सयभन्दा बढी युवाहरू रास्वपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल शेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, शेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दनिश शेखलगायतका युवा नेताहरू रहेका छन् ।
रास्वपामा प्रवेश गर्दै जेन्जी युवा नेता परबेज शेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुकमा वास्तविक परिवर्तन ल्याउन सक्ने विश्वासका साथ पर्साका जेन्जी युवाहरू पार्टीमा प्रवेश गरेको बताए । उनले पर्सामा रास्वपालाई विजयी गराउन अब सम्पूर्ण जेन्जी युवा शक्ति एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जेन्जी युवाहरू सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका अग्रणी जेन्जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने पार्टी रास्वपा नै भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै आफ्नो वास्तविक सम्पत्ति भएको उल्लेख गरे । युवाहरूको साथ र समर्थन पाएकोले आफू ढुक्कका साथ निर्वाचन जित्ने दाबी उनले गरे ।
सभापति पन्तले निर्वाचनका क्रममा हुने पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्नसमेत आग्रह गरे ।
कार्यक्रम वीरगंज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।