पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सा नगरपालिका वडा नम्बर–४ स्थित बारवा टाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा जेष्ठ नागरिकहरूको आशीर्वाद, जेन्जी युवाहरूको उल्लेखनीय सहभागिता तथा स्थानीयवासीको सक्रिय समर्थन देखिएको थियो । घरदैलो कार्यक्रमका क्रममा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए । सो अवसरमा स्थानीय कृषकहरूले जंगली जनावरका कारण बालीमा ठूलो क्षति भइरहेको गुनासो गरेपछि उम्मेदवार कानुले निर्वाचित भएपश्चात उक्त विषयलाई सदनसम्म पुर्याई दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कानुले वैदेशिक रोजगारीका कारण गाउँ–घर खाली हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय स्तरमै उत्पादनमूलक रोजगारी विकास गर्ने तथा विदेशबाट फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने योजनाबारे जानकारी दिएका थिए । साथै, स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्च सीप तालिम प्रदान गर्ने, स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।
उनले कृषकलाई जंगली जनावरबाट हुने क्षति समयमै समाधान गरिने, सुशासन प्रवर्द्धन गरिने र व्यवहारिक विकासमार्फत समृद्ध समाज निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।