पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आइतबार जिराभवानी गाउँपालिका वडा नम्बर–१ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
वडा नम्बर–१ अन्तर्गत महादेव पट्टी शान्तिनगर पिपरा, भवानीपुर पकडी टोल, जगतिया र बलुवा गाउँमा पुगेका उम्मेदवार रिजाललाई स्थानीयवासीले अबीर, टीका र मालाले स्वागत गरेका थिए । घरदैलोका क्रममा रिजाल मतदाताको घर–घरमा पुग्दै स्थानीयस्तरका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका हुन् ।
स्थानीयवासीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा, रोजगारीलगायतका समस्या उठाउँदै चुनावका बेला गरिएका प्रतिबद्धता जितेपछि कार्यान्वयन गर्न आग्रह गरेका थिए । मतदाताको गुनासो सुन्दै पूर्वमन्त्रीसमेत रहेका रिजालले “हिजोको कांग्रेसभन्दा आजको कांग्रेस धेरै परिवर्तन भएको” दाबी गर्दै अब जनताको समस्या समाधानमा पार्टी अझ जिम्मेवार र गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले युवाहरूले नेतृत्व सम्हालेको कांग्रेसप्रति जनताको आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उक्त भरोसा कहिल्यै टुट्न नदिने वाचा गरेका हुन् । पर्सा–४ का जनताको सुख–दुःखमा आफू सधैँ साथमै रहेको स्मरण गराउँदै रिजालले फेरि एक पटक विश्वास गर्न आग्रह गरेका हुन् ।
“एकपटक फेरि मलाई भरोसा गर्नुस्, विगतको भन्दा अझ बढी तपाईंहरूको भरोसामा खरो उत्रिनेछु,” उनले भनेका छन् । घरदैलो कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर प्रसाद चौधरी, कांग्रेस प्रदेश महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, बुथ सभापति शेख ग्यासुदिन, पूर्व वडाध्यक्ष शेख नुमान आजम, युवा नेता सन्तोष चौरसियालगायतको सहभागिता रहेको थियो ।