सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटना गत माघ १४ गते दिउँसोको हो । लुटेरा समूहले पीडितलाई काठमाडौं महानगरपालिका–१४ स्थित घ्याखेलमा बोलाएको थियो । सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगेका थिए ।
तर, त्यहाँ सुन नभई ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पारी नियन्त्रणमा लिएको थियो । उनीहरूले कुटपिट गरी पीडितसँग रहेको ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए ।
लुटपाटको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूलाई माघ १८ गते पक्राउ गरिएको हो ।
त्यस्तै, नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ, ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल तथा विभिन्न कम्पनीका १३ थान सिमकार्ड बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।