प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा पनि फागुन २१ मै एकै चरणमा निर्वाचन हुने बताएकी छन् ।
उच्च हिमाली क्षेत्रको अवस्था बुझ्न आज बिहान सोलुखुम्बुको नाम्चे र सल्लेरी पुगेकी प्रधानमन्त्री कार्कीले सरोकारवालासँगको भेटमा निर्धारित मितिमै चुनाव सम्पन्न हुने बताएकी हुन् ।
हेलिकोप्टरमार्फत नाम्चे र त्यसपछि सल्लेरी पुगेकी कार्कीले जिल्ला समन्वय समितिमा सरोकारवालासँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनबारे कुनै शंका नगर्न आग्रह गरिन् । उनले सुरक्षाको दृष्टिकोणबाट समेत सरकार तयारी अवस्थामा रहेको बताइन् । निर्वाचन सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको उल्लेख गर्दै उनले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरिन् ।
यसअघि प्रधानमन्त्री कार्कीलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल तथा प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले स्वागत गरेका थिए ।
जिल्लाको पछिल्लो अवस्थाअनुसार फागुन २१ मा निर्वाचन गराउन समस्या नहुने जानकारी प्रमुख जिल्ला अधिकारी पाण्डेले दिएकी थिइन् । उनका अनुसार यस वर्ष हिमपातका कारण समस्या आउने सम्भावना न्यून रहेको छ । अहिलेसम्म जिल्लामा हिमपात नभएको र सामान्यतया पनि फागुन तेस्रो सातातिर धेरै हिउँ नपर्ने गरेको उनले बताइन् ।