आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रभु साहको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।घोषणापत्रमा शासन प्रणाली, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा तथा वैदेशिक नीतिसम्मका विषयमा संरचनागत सुधारका व्यापक एजेन्डा समेटिएका छन् । आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, करको सीमा निर्धारण तथा निःशुल्क आधारभूत सेवा उपलब्ध गराउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
घोषणापत्रअनुसार प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ । संघ र प्रदेश तहमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने नीति पनि अघि सारिएको छ ।
निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’को संवैधानिक व्यवस्था गर्ने प्रतिबद्धता पनि आजपाले जनाएको छ । साथै, सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी)को २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने प्रावधान संविधानमै राख्ने प्रस्ताव गरिएको छ । गैरआवासीय तथा विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेन्डासमेत घोषणापत्रमा समेटिएको छ ।
न्यायालयको डिजिटलीकरण र भ्रष्टाचार नियन्त्रण
आजपाले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिबद्धता जनाएको छ । सरकारी खर्च तथा विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरी पारदर्शिता कायम गरिने उल्लेख गरिएको छ । नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही गरिने घोषणापत्रमा उल्लेख छ ।
न्यायालयको पूर्ण डिजिटलीकरण, पारदर्शी नियुक्ति प्रणाली र न्यायिक सुधारलाई पनि प्राथमिकतामा राखिएको छ ।
‘एक घर, एक रोजगारी’ कार्यक्रम
आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने तथा बेरोजगारलाई बेरोजगारी भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । प्रत्येक विद्यार्थीले कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य रूपमा सिक्नुपर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क
घोषणापत्रमा पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा सञ्चालन तथा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने योजना समेटिएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् सेवा आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने एजेन्डा पनि सार्वजनिक गरिएको छ ।
पूर्वाधार, ऊर्जा र आवास
आजपाले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षाका लागि उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङ निर्माण गर्ने योजना अघि सारेको छ । राजमार्गमा अप्टिकल फाइबर विस्तार गरी डिजिटल करिडोर विकास गर्ने लक्ष्य पनि घोषणापत्रमा उल्लेख छ ।
विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण तथा योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता पनि आजपाले जनाएको छ ।
आजपाले आफ्नो घोषणापत्रलाई “संरचनागत परिवर्तन र समावेशी विकासको खाका” का रूपमा प्रस्तुत गरेको छ ।