पर्सामा टोल–टोलका स्थानीयहरूले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिहरू खोजेर पार्टी प्रवेश गर्न थालेका छन् ।
पार्टीका वरिष्ठ नेता बालेन साहको वीरगंज रोडसोलाई पछ्याउँदै वीरगंजमा पार्टीप्रतिको क्रेज तीव्र रूपमा बढेको छ । यसैक्रममा पर्सा–१ अन्तर्गत शुक्रबार राति परवानिपुर र शनिबार बिहान भिस्वामा गरी पाँचसय भन्दा बढी विभिन्न पेशामा संलग्न अभियन्ता, पेशाकर्मी र समाजसेवीहरूले पार्टी प्रवेश गरेका छन् ।
परवानिपुरमा शुक्रबार अबेर राति स्थानीय अभियन्ता प्रदीप साह को नेतृत्वमा आयोजित कार्यक्रममा, र शनिबार बिहान भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठ को नेतृत्वमा आयोजित कार्यक्रममा करिब पाँच सयभन्दा बढी व्यक्तिहरूलाई रास्वपाका पर्सा जिल्ला सभापति तथा पर्सा–१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरि पन्तले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभापति पन्तले पुराना दलका उम्मेदवारलाई बहिष्कार गर्न आम मतदातालाई आग्रह गर्दै भने कि यसपालिको निर्वाचनमा नयाँ नेतृत्व र विकासमुखी सोचलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ । त्यसैगरी आज पर्सा–१ का उम्मेदवार पन्तले गहवामा घरदैलो कार्यक्रम गर्दै आफ्ना मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाट तथा घरदैलोको क्रममा स्थानीयहरूले पन्तलाई टीका–माला र खादासहित अपार माया देखाउँदै स्वागत गरेका थिए। कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्थानीय नेताहरूका अनुसार रास्वपामा युवाहरू, समाजसेवी र स्थानीय अभियन्ताहरूको बढ्दो सहभागिताले पार्टीलाई थप सशक्त बनाउँदै आगामी निर्वाचनमा ठूलो जनसमर्थन सुनिश्चित गर्ने जनाएकाे छ ।