असोज २०८१ मा आएको बाढीले क्षति गरेको बीपी राजमार्गमा सडकको काम सुरु भए पनि पुल निर्माण अझै प्रारम्भ भएको छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । दिनमा ४ हजारभन्दा बढी सवारीसाधन यस सडक हुँदै ओहोरदोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था देखिएको छ ।
सडक र पुलको ठेक्का एकैसाथ नहुँदा समस्या झन् बढेको छ । सडक विभागले पुल निर्माणको ठेक्का तयारी गरिसकेको भए पनि चालु आर्थिक वर्षमा काम सुरु नहुने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार अहिले पुराना पुलबाटै सवारीसाधन ओहोरदोहोर गरिरहेका कारण सडकसँगै पुल निर्माणको काम नथालिएको हो ।
‘पुल निर्माणका लागि सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गर्छौं,’ न्यौपानेले भने, ‘जाइकाबाट अनुमति आए पुल बनाउने काम गरिनेछ, नभए आगामी आर्थिक वर्षको बजेटमा राखेर काम अघि बढाइनेछ ।’ यो वर्ष तयारी सबै सकेर अर्को वर्ष बजेटमा राखेर दाप्चा खोलाको भकुन्डेबेसी, दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ पुल निर्माण गरिने योजना रहेको छ ।
उनले थपे, ‘पुल बनाउनेबारे प्रारम्भिक अध्ययनको काम भइरहेको छ र यो सकिएपछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिनेछ । डीपीआर सकिएपछि लागत निश्चित हुनेछ । अहिले निर्माण गर्न लागिएका सबै पुल काभ्रे खण्डमा पर्नेछन् र दुई लेनका बनाइनेछन् । पुलको ठेक्का भएको दुई वर्षभित्र काम सक्नुपर्नेछ ।’
सडक बनाउँदा पुलका लागि स्थान छुट्याएर निर्माण भइरहेको छ । ‘बाढीले बढी क्षति सडकमा गरेको थियो, पुलमा त्यस्तो समस्या छैन, त्यसैले केही ढिलाइ भएको हो,’ उनले बताए ।
केही खण्डमा पुलको ठेक्का भएको भए पनि निर्माण प्रगति सन्तोषजनक छैन । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले भने, ‘माम्तीखोला पुल गत असोजमा निर्माण नसकिँदै सञ्चालनमा ल्याइयो, अहिले पुलमा जोड्ने पहुँच सडकको मात्र काम बाँकी छ । कालढुंगा पुलको पुरानो ठेक्का फेरि नयाँ ठेक्कामा ल्याएर मन्त्रालयमा पेस गरिएको छ ।’