पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानु ले घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिनुभएका कानुले पर्सागढी नगरपालिका–३ बढनिहारमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घण्टी चुनाव चिन्हमा समर्थन गर्न अपिल गर्नुभएको हो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकले भोग्दै आएको मल र सिँचाइ समस्याबारे गुनासो राखेका थिए । ती विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कानुले कृषि यस क्षेत्रको मुख्य आधार भएकाले किसानलाई समयमै मल र सिँचाइ सुविधा उपलब्ध गराउनु अत्यावश्यक रहेको बताउनुभयो । निर्वाचित भए यी मुद्दालाई प्राथमिकतामा राखेर समाधानतर्फ ठोस पहल गर्ने उहाँको भनाइ थियो ।
युवालाई लक्षित कार्यक्रमअन्तर्गत स्थानीय तहमै पशुपालनसम्बन्धी प्राविधिक तालिम सञ्चालन गर्ने, स्वरोजगारका अवसर विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाएर युवालाई आफ्नै गाउँ–ठाउँमै अवसर सिर्जना गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कानुले प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र शिक्षाको गुणस्तर अभिवृद्धिलाई पार्टीको मुख्य एजेन्डाका रूपमा अघि सार्नुभएको छ । ‘जनताको आधारभूत आवश्यकता सुनिश्चित नगरी विकासको चर्चा गर्नु सार्थक हुँदैन,’ उहाँले बताउनुभयो ।
घरदैलो कार्यक्रममा बढनिहारका ज्येष्ठ नागरिक, महिला, युवा तथा कृषक समुदायको उल्लेख्य सहभागिता देखिएको थियो । सहभागीहरूले परिवर्तनको पक्षमा समर्थन जनाउँदै यसपटकको मतले सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमले बढनिहार क्षेत्रमा रास्वपाप्रति बढ्दो चासो र चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको छ ।