हरेक निर्वाचनमा प्रमुख एजेण्डा बन्ने सालझण्डी–ढोरपाटन सडक यसपालि पनि चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूको घरदैलो अभियानको मुख्य नाराका रूपमा दोहोरिएको छ । पहाड र तराई जोड्ने उद्देश्यले २०७१ सालमा ट्रयाक खुलेको यो सडक अहिले पनि स्तरोन्नति नहुँदा स्थानीय र पर्यटक दुवै सास्ती खेप्न बाध्य छन् ।
ढोरपाटन जोड्ने यो सडक बागलुङ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । हिउँदमा धुलो र बर्खामा हिलोले सडक आसपासका बासिन्दा आजित बनेका छन् । निसीखोला गाउँपालिका–७ राजकुटदेखि गुल्मी र प्युठानको सिमाना गङ्गरेसम्म सामान्य सवारी सञ्चालन भए पनि बुर्तिबाङ–ढोरपाटन खण्ड अत्यन्तै जोखिमपूर्ण र अप्ठ्यारो छ । करिब ३५ किलोमिटरको यो खण्ड साँघुरो र कच्ची हुँदा यात्रु तथा पर्यटकले निकै दुःख पाउने गरेका छन् ।
नेपालको एक मात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन क्षेत्रमा पर्यटकको चाप बढ्दो छ । तर सडक स्तरोन्नति नहुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।
बुर्तिबाङ–फल्लेघर खण्ड (करिब २२ किमी) ग्राभेलका लागि चार वर्षअघि स्वच्छन्द/ओमबुद्ध जेबी, काठमाडौंले जिम्मा पाएको थियो । २०७८ कात्तिक ५ गते ३० महिनामा काम सक्ने गरी सम्झौता भए पनि २०८० वैशाखसम्म सक्नुपर्ने काम हालसम्म करिब ६५ प्रतिशत मात्रै सम्पन्न भएको छ । अहिले तेस्रो पटक म्याद थप गरेर आगामी २०८३ जेठसम्म काम सक्ने लक्ष्य राखिएको छ । २५ करोड ६१ लाख रुपैयाँभन्दा बढी लागतमा स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिइन् ।
खल्लेघर–देउराली तीन किलोमिटर कालोपत्रका लागि पीटीआर अधिकारी कन्स्ट्रक्सनसँग १६ करोड ४८ लाख रुपैयाँमा सम्झौता गरिएको छ । २०८४ असारसम्म सम्पन्न गर्नुपर्ने यो खण्डमा हालसम्म १२ प्रतिशत मात्रै काम भएको छ ।
२०६८ सालमा रूपन्देहीको सालझण्डीदेखि सुरु भएको १९७ किलोमिटर लामो सडक अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ । रूपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तुलनात्मक रूपमा अघि बढे पनि बागलुङ खण्डमा अपेक्षित प्रगति हुन सकेको छैन । बडिगाड गाउँपालिका–१० गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ ।
स्थानीय मनबहादुर विकका अनुसार २०७६ को उपनिर्वाचनसहित चार वटा निर्वाचनमा नेताहरूले यो सडकलाई मुख्य एजेण्डा बनाउँदै आएका छन् । “हरेक पटक भोट माग्दा सडक बनाउने वाचा गर्छन्, तर हालत उस्तै छ,” उनले गुनासो गरे ।
स्थानीय तुलासा घर्ती मगरका अनुसार सडकको दुरावस्थाका कारण ढोरपाटन क्षेत्रका हजारौँ नागरिकले दैनिक सास्ती खेपिरहेका छन् । “साँघुरो सडक र दुर्घटनाले धेरैले ज्यान गुमाइसके । अझै कति गुमाउनुपर्छ ?” उनले प्रश्न गरिन् ।
सडकको दुरावस्थाले पर्यटक निराश: ढोरपाटन उपत्यकासहित बुकीपाटन, जलजला र निसेलढोर क्षेत्रमा पर्यटक आगमन बढ्दो छ । बर्खामा हरियाली र रङ्गीचङ्गी फूलले ढोरपाटन आकर्षक बन्छ । तर वैकल्पिक सडक नहुँदा उही साँघुरो र अप्ठ्यारो बाटो प्रयोग गर्न पर्यटक बाध्य छन् ।
ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनका अनुसार सडककै कारण धेरै पर्यटक बीच बाटोबाटै फर्किन बाध्य हुन्छन् । “देश–विदेशबाट आउने पर्यटकले सडकबारे गुनासो गर्नुहुन्छ । बर्खामा गाडी बिग्रिँदा ढोरपाटन नपुग्दै फर्कनुपरेको घटना धेरै छन्,” उनले भने ।
वर्षौँदेखि चुनावी एजेण्डामा सीमित सालझण्डी–ढोरपाटन सडक कहिले पूर्ण रूपमा स्तरोन्नति हुन्छ भन्ने प्रश्न स्थानीय र पर्यटन व्यवसायी दुवैको साझा चिन्ता बनेको छ ।