नेपाल ले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा करिब १४ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ ।
भन्सार विभाग ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले विश्वका विभिन्न मुलुकबाट १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका विद्युतीय कार, जिप र भ्यान आयात गरेको हो ।
यस अवधिमा सरकारले ईभी आयातबाट ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार सात महिनामा कुल ५ हजार ८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
चीनको दबदबा
देशगत तथ्याङ्क विश्लेषण गर्दा चीन को दबदबा स्पष्ट देखिएको छ । चीनबाट मात्रै यस अवधिमा ४ हजार २०४ युनिट विद्युतीय गाडी आयात भएका छन्, जसको कुल आयात मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । चिनियाँ ब्रान्डका गाडी विभिन्न मूल्य र आधुनिक प्रविधिसहित उपलब्ध हुने भएकाले नेपाली ग्राहकको पहिलो रोजाइमा परेका छन् । चीनबाट आएका गाडीबाट मात्रै सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
भारत दोस्रो, थाइल्याण्ड पछ्याउँदै
चीनपछि भारत नेपाली बजारमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ । सात महिनामा भारतबाट १ हजार २६३ युनिट विद्युतीय गाडी आयात भएका छन्, जसको मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
त्यस्तै, दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्ड बाट पनि नेपालमा ईभी आयात उल्लेख्य रूपमा भइरहेको छ । थाइल्याण्डबाट यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरका ४०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
