पर्सास्थित जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।
कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलहरूमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए ।
उनका अनुसार फागुन १७ गतेभित्र सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको छ । सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ । साथै, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकलाई सहयोग गर्न आग्रह गरिएको छ ।