फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको छ । यसैबीच, निर्वाचन आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री जिल्ला प्रशासन कार्यालय धनुषाले हटाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवार तथा राजनीतिक दलले सार्वजनिक स्थल, विद्युत् पोल, सरकारी भवन तथा सडक छेउछाउमा जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको हो ।
निर्वाचन आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनले बिहीबार उम्मेदवार तथा दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैं हटाउन निर्देशन दिएको थियो । तर तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैं खटेर हटाएको जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताए । उनका अनुसार अब पुनः यस्ता सामग्री टाँसेमा सम्बन्धित उम्मेदवार तथा दललाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
पछिल्ला दिनमा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता तथा सरकारी संरचनामा अत्यधिक मात्रामा प्रचार सामग्री प्रयोग गरेको पाइएको प्रशासनले जनाएको छ । निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र सहरलाई सफा राख्न स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायसँग समन्वय गरी अनुगमन कार्यलाई निरन्तरता दिइएको छ ।
यसैबीच, निर्वाचन नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा सभामार्फत प्रचारप्रसारमा सक्रिय बनेका छन् । प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ । नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने र सम्बन्धित पक्षलाई आवश्यक कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।