अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपाल को आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
आईएमएफका अनुसार पछिल्लो आर्थिक प्रदर्शनपछिको अनिश्चितता र लगानीको वातावरण कमजोर हुनुले आर्थिक वृद्धिदर घटेको निष्कर्ष निकालिएको छ । यसअघि आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत रहने अनुमान गरेको थियो ।
यसैगरी आईएमएफले नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति पनि सचेत गराएको छ । आईएमएफका अनुसार गएको जनवरीसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) ५ दशमलव ४ प्रतिशत पुगेको छ ।
यसबीच आईएमएफ र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत सातौँ अर्थात् अन्तिम किस्ताका लागि कर्मचारी तहमा सहमति भएको छ ।
आईएमएफको कार्यकारी बोर्डबाट स्वीकृति पाएपछि नेपालले अन्तिम किस्ताबापत ४ करोड ३२ लाख अमेरिकी डलर (करिब सवा ६ अर्ब रुपैयाँ) प्राप्त गर्नेछ । यो रकम प्राप्त भएपछि नेपालले ईसीएफ अन्तर्गत कुल करिब पौने ५६ अर्ब रुपैयाँ पाउनेछ ।