पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी अभियानलाई जनतासँग प्रत्यक्ष संवादमार्फत थप सशक्त बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । जनमत पार्टी का तर्फबाट उम्मेदवार बनेका सरार्फले स्थानीय बासिन्दासँग भेटघाट गर्दै त्यहाँका विविध समस्या, चुनौती र सम्भावनाबारे जानकारी लिएका हुन् ।
घरदैलो अभियानका क्रममा सरार्फले वडा नम्बर–२ मा देखिएको खानेपानीको समस्या प्रमुख सरोकारको विषय भएको बताए । स्थानीयवासीहरूले वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको गुनासो गरेपछि उनले दीर्घकालीन समाधानका लागि योजनाबद्ध पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“खानेपानी नागरिकको आधारभूत अधिकार हो, यसमा कुनै सम्झौता हुँदैन,” उनले भने, “स्थायी पाइपलाइन विस्तार, पानी ट्यांकी निर्माण र आधुनिक प्रविधिको प्रयोगमार्फत यस समस्याको समाधान गरिनेछ ।”
त्यसैगरी, सडक तथा ढल व्यवस्थापनको समस्या पनि वडा नम्बर–२ मा गम्भीर रूपमा देखिएको पाइएको छ । वर्षायाममा हिलाम्मे सडक र अव्यवस्थित ढल निकासका कारण स्थानीयवासीहरूले सास्ती खेप्दै आएको बताएका छन् । सरार्फले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सडक निर्माण, ढल व्यवस्थापन सुधार तथा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिने बताए । उनले स्थानीय तह र संघीय सरकारबीच समन्वय गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने स्पष्ट पारे ।
भेटघाटका क्रममा भूमिसम्बन्धी समस्या पनि उठाइएको थियो । केही क्षेत्रमा सार्वजनिक जग्गा संरक्षण र अवैध अतिक्रमण रोकथामको विषयमा नागरिकहरूले चासो व्यक्त गरेका थिए । सरार्फले सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शी प्रशासनिक प्रणालीमार्फत भूमिसम्बन्धी विवाद समाधान गरिने प्रतिबद्धता जनाए ।
यसका साथै, युवाहरूका लागि रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन पनि उनको प्रमुख एजेन्डा रहेको उनले बताए । वडा नम्बर–२ का युवाहरूले रोजगारी अभावका कारण विदेश पलायन हुनुपरेको गुनासो गरेपछि उनले स्थानीय स्तरमै उद्योग, साना व्यवसाय र स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरे ।
स्वास्थ्य र शिक्षा क्षेत्रको सुदृढीकरण पनि उनको प्राथमिकतामा परेको छ । स्थानीय स्वास्थ्य चौकीको स्तरोन्नति, औषधि आपूर्ति व्यवस्थापन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा पहल गरिने उनले बताए । महिलाहरूको सशक्तीकरण, बालबालिकाको संरक्षण र सामाजिक सद्भाव कायम राख्ने विषयमा समेत उनले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो अभियानमा सरार्फले प्रत्येक घरमा पुगेर मतदाताको सुझाव, गुनासो र अपेक्षा सुन्ने प्रयास गरेका थिए। स्थानीय बासिन्दाहरूले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । अभियानका क्रममा वातावरण उत्साहजनक देखिएको थियो भने स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता रहेको थियो ।
सरार्फले आफ्नो अभियान केवल चुनाव जित्ने उद्देश्यले मात्र नभई दीर्घकालीन विकासको स्पष्ट दृष्टिकोणसहित अघि बढेको बताए । उनले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने प्रतिबद्धता व्यक्त गरे । वडा नम्बर–२ मा सम्पन्न घरदैलो कार्यक्रमले जनमत पार्टीको चुनावी अभियानलाई थप गति दिएको छ । स्थानीय समस्या समाधानका स्पष्ट एजेन्डा र सकारात्मक सोचका साथ अघि बढेको सरार्फको अभियानले मतदातामा आशा र विश्वास जगाएको देखिन्छ ।