राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै प्रदेशसभा सदस्य पदका पूर्व स्वतन्त्र उम्मेदवार स्याङ्बो (विनोद) लामा तामाङसहितको टोली रास्वपामा प्रवेश गरेको छ ।
सोमबार पर्सागढी नगरपालिका–३ झाबराहमा आयोजित विशेष कार्यक्रमबीच लामा सहितको टोलीले पार्टी प्रवेश गर्दै कानुलाई समर्थन जनाएको हो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा–२ (१) बाट ‘फुटबल खेलाडी’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका लामाले १ हजार २८८ मत प्राप्त गरेका थिए । स्थानीय स्तरमा राम्रो पकड रहेका लामाको प्रवेशले पर्सा २ मा कानुको जनसमर्थन थप बलियो भएको स्थानीयहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै नवप्रवेशी लामाले परम्परागत र पुराना दलहरूबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएकाले रास्वपालाई वैकल्पिक शक्तिका रूपमा रोजेको बताए । उनले पर्सा–२ को नेतृत्व अब युवाको हातमा सुम्पिनुपर्ने उल्लेख गर्दै सुशील कुमार कानुलाई विजयी गराउन आफूले समर्थन जनाएको स्पष्ट पारेका छन् ।
उनका अनुसार यस क्षेत्रबाट पटक–पटक निर्वाचित भएकाहरूले आश्वासनबाहेक केही दिएनन् । अब रास्वपाका उम्मेदवार सुशिल कुमार कानुबाट मात्र पर्सा–२ को विकास सम्भव उनले बताए ।
नवप्रवेशी लामालाई स्वागत गर्दै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशिल कुमार कानुले लामाको प्रवेशसँगै पर्सा–२ मा रास्वपाको जित सुनिश्चित भएकाे बताए । उनले अन्य दलका नेता–कार्यकर्तालाई पनि पुराना दल परित्याग गरी परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गरेका थिए ।
उम्मेदवार सुशिल कुमार कानुले निर्वाचनपछि बन्ने बालेन शाह नेतृत्वको सरका रमार्फत पर्सा–२ का लागि विकास, समृद्धि, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षामा सुधार, खेलकुद पूर्वाधार विकास तथा भौतिक पूर्वाधार निर्माणका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाएका थिए । यसका साथै पर्सागढीको ऐतिहासिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा स्थानीय रास्वपा नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।