सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले सेनाको सङ्ख्या घटाएर ‘तिब्बत ओरिजिनल ब्लड ( टिओबी )’लाई सीमा सुरक्षाको जिम्मा दिने गरी बाचा पत्र ल्याएको दाबी गरिएको छ । तर तथ्य जाँचका क्रममा उक्त दाबी भ्रामक देखिएको छ ।
के हो दाबी ?
५ हजार ९ सय फलोअर भएका अरुणिमा साह नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी १९ राति ८:१८ बजे पोस्ट गरेको सामग्रीमा रवि लामिछाने, बालेन्द्र शाह र स्वर्णिम वाग्ले को तस्बिरसहित डिजाइन गरिएको ग्राफिक्स प्रयोग गरिएको छ ।
ग्राफिक्समा लेखिएको छ –
“सेनाको सङ्ख्या घटाउने, सिमानामा काँडेतारको जिम्मा तिब्बत ओरिजिनल ब्लड ( टिओबी )लाई दिने ।”
पोस्टमा “रास्वपा कन्ट्र्याक्ट पेपर” शीर्षक राखिएको छ । तथ्य जाँचको समयसम्म उक्त पोस्टमा ८२ रियाक्सन, १४ कमेन्ट र १७ पटक शेयर भएको देखिएको थियो ।
के हो तथ्य?
हामीले फेब्रुअरी १९ मा सार्वजनिक भएको रास्वपाको आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जारी ‘बाचा पत्र २०८२’ अध्ययन गर्यौँ ।
बाचा पत्रको बुँदा ९७ मा सीमा सुरक्षासम्बन्धी नीति उल्लेख गरिएको छ । उक्त बुँदामा सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारसहित ‘विशिष्टीकृत सीमा सुरक्षा बल’का रूपमा परिचालन गर्ने उल्लेख छ ।
यसमा नाइट–भिजन क्यामेरा, ड्रोन निगरानी, डिजिटल इन्ट्री–एक्जिट प्रणाली लागू गर्ने तथा सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने विषय समावेश गरिएको छ ।
तर, सेनाको सङ्ख्या घटाउने वा ‘तिब्बत ओरिजिनल ब्लड ( टिओबी )’लाई सीमा सुरक्षाको जिम्मा दिने विषय कतै उल्लेख गरिएको भेटिएन ।
यसैगरी, २०७९ असार ७ गते स्थापना भएको रास्वपाले सार्वजनिक गरेको ‘यति काम चाहिँ गर्छौँ गर्छौँ’ शीर्षकको प्रतिबद्धता सूचीमा पनि सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा बलमा परिणत गर्ने, देशका सिमानामा काँडेतार लगाउने र सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने उल्लेख छ ।
तर, त्यहाँ पनि ‘टिओबी’लाई जिम्मा दिने भन्ने विषय कतै उल्लेख गरिएको छैन ।
तथ्य जाँच निष्कर्ष
दाबी : रास्वपाको बाचा पत्रमा सेनाको सङ्ख्या घटाएर टिओबीलाई सीमा सुरक्षाको जिम्मा दिने उल्लेख गरिएको ।
दाबीकर्ता : अरुणिमा साह नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : भ्रामक सूचना ।
रास्वपाको आधिकारिक ‘बाचा पत्र २०८२’ तथा पूर्व सार्वजनिक प्रतिबद्धता सूची अध्ययन गर्दा उक्त दाबी पुष्टि हुने कुनै प्रमाण भेटिएन ।