महोत्तरी | जनता समाजवादी पार्टी नेपाल (जसपा) महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न तथा नगराउन पटक–पटक निर्देशन दिँदा पनि अटेरी गरेपछि कारबाहीस्वरूप निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । विज्ञप्तिसँगै निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ ।
निष्कासनमा परेका जनप्रतिनिधि
निष्कासनमा परेकामध्ये
-
सुरेश साह सोनार, प्रमुख, जलेश्वर नगरपालिका
-
रामजानकी यादव, अध्यक्ष, पिपरा गाउँपालिका
-
वन्दना पाण्डेय, उपाध्यक्ष, पिपरा गाउँपालिका
-
कुशेश्वर सिंह, वडा अध्यक्ष, गौशाला नगरपालिका–१२
त्यसैगरी अन्य निष्कासित नेताहरूमा कुमरकान्त मिश्र, शेष जाली, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सन्तोष साह, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरिनारायण मण्डल रहेका छन् ।
विज्ञप्तिअनुसार श्याम यादव र हरिनारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा तथा वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनका लागि सिफारिस गरिएको उल्लेख छ ।
जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टी अनुशासन, विधान र हितको संरक्षण गर्दै सबै नेता–कार्यकर्तालाई आधिकारिक उम्मेदवारको पक्षमा एकजुट हुन आग्रह गरिएको छ ।
बागी उम्मेदवारीले थपियो विवाद
यसैबीच, महन्थ ठाकुर संरक्षकसमेत रहेको जसपा नेपालबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा उनकी छोरी मिनाक्षी ठाकुर उम्मेदवार बनेपछि असन्तुष्टि देखिएको छ । सोही असन्तुष्टिको पृष्ठभूमिमा हरिनारायण यादवले बागी उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
पार्टीभित्रको यो आन्तरिक विवादले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ ।
