नेपाल पत्रकार महासंघको आयोजनामा मधेश प्रदेशका पत्रकार महासंघका पदाधिकारीकाे उपस्थितिमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताबारे अभिमुखीकरण कार्यक्रम वीरगंजमा सम्पन्न भएकाे छ ।
निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहितासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा पत्रकारहरूको जिम्मेवारी, निष्पक्षता र तथ्यमा आधारित समाचार सम्प्रेषणका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले जिल्लामा उम्मेदवारहरूको दाबी–विरोध फर्छ्योट भइसकेको जानकारी दिँदै निर्वाचन प्रक्रिया विधिसम्मत ढंगले अगाडि बढिरहेको बताए । उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै प्रशासनबाट आवश्यक सहकार्य रहने प्रतिबद्धता जनाएका थिए ।
यसैगरी कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले निर्वाचनका बेला पत्रकारहरू कति जिम्मेवार र संवेदनशील बन्न सक्छन् भन्ने विषय नै मुख्य चुनौती भएको बताइन् । उनलेे पत्रकारले तथ्य, सन्तुलन र विश्वसनीयतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएकी थिईन् ।
क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसूदन आचार्यले पत्रकारहरूले अपुष्ट सूचना र सामाजिक सञ्जालमा फैलिने हल्लाको पछि नलागी आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए । उनले “तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार रिपोर्टिङले निर्वाचनको विश्वसनीयता बढाउन बताएका थिए ।
यसैगरी विश्व पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले केही केन्द्रीय मिडियाबाट उम्मेदवार तथा दल विशेषप्रति पूर्वाग्रहपूर्ण सामग्री प्रसारण भइरहेको भन्दै त्यस्ता प्रवृत्तिमाथि कडाइ गर्नुपर्ने धारणा राखेका थिए । प्रशिक्षण सत्रमा निर्वाचन कार्यालयका लेखापाल दिनदयाल कुश्वाहाले निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया, मतगणना, सञ्चारमाध्यमको भूमिका तथा कानुनी प्रावधानबारे जानकारी गराएका थिए ।
निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा १ सय ६७ वटा मतदान स्थल र ४ सय ४१ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै स्थानको अनुगमन सम्पन्न भइसकेको छ । आवश्यक मतदान सामग्री जिल्लामा आइसकेको र करिब तीन चौथाइ सामग्री सुरक्षित रूपमा सम्बन्धित स्थानमा पु¥याइसकिएको र क्षेत्र नम्बर १ र २ का सामग्री वीरगञ्जस्थित निर्वाचन कार्यालयको स्टोरमा सुरक्षित राखिएको जनकारी गराएका थिए ।
त्यसैगरी मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन जिल्लाका १ सय १२ वटा वडामा मतदाता शिक्षक नियुक्त गरिएको छ । उनीहरूले मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग र आचारसंहिताबारे जानकारी दिइरहेकाे जनाएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सहभागीहरूले सत्यतथ्य, सन्तुलन र आचारसंहिताप्रतिको प्रतिबद्धता नै लोकतन्त्र सुदृढ गर्ने आधार भएको निष्कर्ष निकालेकाे थियोे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राजु विश्वकर्मा र सिकिन्द्र पासवान, धनुषा जिल्ला अध्यक्ष पुरन गुप्ता, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, सर्लाही जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुर, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति रहेको थियो ।