धनुषा जिल्लामा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ ।
जिल्लाको औरही गाउँपालिका–६मा बिहीबार अपराह्न भएको घटनामा हंसपुर नगरपालिका–९का सुमित मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुग्म कुँवरका अनुसार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट मृतकको एक युवतीसँग प्रेम सम्बन्ध रहेको खुलेको र सोही विषयसँग घटना जोडिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा पहिचानको काम तीव्र बनाएको जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।