प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटाप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको बताइएको छ । फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै विभिन्न दल परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।
यसैक्रममा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लगायत विभिन्न दल त्यागेर २ सय १० भन्दा बढी महिला तथा पुरुष काँग्रेसमा प्रवेश गरेका छन् ।
परवानीपुरका पूर्व वडाध्यक्ष हविव मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार रुङ्गटा तथा संविधानसभा सदस्य एवं नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले नवप्रवेशीहरूलाई फूलमाला, टीका र गम्छा ओढाएर स्वागत गरेका थिए ।
महिला र युवाको उल्लेख्य सहभागिता
क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताका अनुसार प्रवेश गर्नेहरूमा सबैभन्दा बढी संख्या महिला र युवाको रहेको छ ।
“देशलाई निकास र जनतालाई विकास दिन सक्ने शक्ति नेपाली काँग्रेस नै हो भन्ने विश्वासका साथ परवानीपुरवासी काँग्रेसमा प्रवेश गरेका हुन्,” उनले बताए ।
‘रुख’ छापमा मतदान गर्न आग्रह
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा आवद्ध भएकाहरूलाई धन्यवाद दिँदै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट बाहिर निकाल्न काँग्रेससँग स्पष्ट मार्गचित्र रहेको दाबी गरे ।
“देश संकटमा पर्दा काँग्रेसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आगामी पाँच वर्षभित्र सुशासन र विकासको अनुभूति दिलाउने प्रतिबद्धता हाम्रो छ,” उनले भने ।
उनले काँग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरी स्थिरता र समृद्धिको यात्रामा साथ दिन आम मतदातासँग आग्रह गरे ।
संविधानसभा सदस्य अजय द्विवेदीले लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता ऐतिहासिक उपलब्धि काँग्रेसकै अगुवाइमा प्राप्त भएको उल्लेख गर्दै अब बाँकी रहेको सुशासन र विकासको राष्ट्रिय दायित्व पनि काँग्रेसले नै पूरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, उपाध्यक्ष अनिल सिंह, नेता बसरुदिन अन्सारी, जतन राउत लगायतका नेताहरूले पनि सम्बोधन गर्दै आगामी निर्वाचनमा रुङ्गटालाई विजयी गराउन आह्वान गरेका थिए ।
बेलवामा घरदैलो तीव्र
यसैबीच आफ्नो चुनाव प्रचारलाई तीव्रता दिँदै उम्मेदवार रुङ्गटाले शुक्रबार वीरगञ्ज महानगरपालिका – ३१ बेलवाका मतदातालाई घरदैलोमार्फत भेट गरेका छन्। नेपाली काँग्रेस पर्सा बेलवा वडा इकाइ समितिद्वारा आयोजित कार्यक्रममा उनले घर–घर पुगेर ‘रुख’ छापमा मतदान गर्न आग्रह गरेका थिए ।
सो अवसरमा पार्टीका नेता – कार्यकर्ता तथा स्थानीय भद्रभलादमी महिला – पुरुषहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
निर्वाचन नजिकिँदै जाँदा परवानीपुरसहित पर्सा क्षेत्र नं. १ मा काँग्रेस प्रवेश र समर्थनको लहरले चुनावी माहोल थप तातिएको देखिएको छ ।