जनमत पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फलाई वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।
घरदैलो तथा जनसम्पर्क कार्यक्रमका क्रममा जगरनाथपुर पुगेका सरार्फलाई स्थानीयले फूलमाला लगाएर स्वागत गर्दै समर्थन व्यक्त गरेका थिए । कार्यक्रममा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थानीयसँगको भेटघाटमा सरार्फले पर्सा–१ का नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए ।
“वीरगंज पर्साको समग्र विकासका लागि स्पष्ट योजना र प्रतिबद्धताका साथ मैदानमा उत्रिएको छु । जनताको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु,” उनले भने ।
उनले सीमावर्ती जिल्ला भएकाले उद्योग, व्यापार तथा कृषि क्षेत्रलाई सुदृढ बनाउँदै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने योजना अघि सारे । साथै, साना तथा मझौला उद्यम प्रवर्द्धन, सीपमूलक तालिम र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै स्थानीय बासिन्दाले विगतमा निर्वाचित प्रतिनिधिहरूबाट अपेक्षित काम हुन नसकेको गुनासो गर्दै यसपटक सक्षम र जवाफदेही नेतृत्व चयन गर्न चाहेको बताएका थिए ।
जगरनाथपुर क्षेत्रमा खानेपानी, सडक स्तरोन्नति, सरसफाइ र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीयले आफ्ना मागहरू उम्मेदवारसमक्ष राखेका थिए ।
घरदैलो कार्यक्रममा जनमत पार्टीका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न पेशासँग आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।