हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त प्रणालीका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली देखिएको छ । अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने ती प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसममा हुने परिवर्तनका कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।