आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिएको छ ।
आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदानका लागि आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका मतदाताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक सेवा सुचारु राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।
निर्देशनअनुसार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्यकर्मी, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न भनिएको छ । साथै आवश्यक समन्वयका लागि सबै स्थानीय तहलाई समेत सचेत गराइएको आयोगले उल्लेख गरेको छ ।
निर्वाचनलाई भयरहित, व्यवस्थित र सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकारी संयन्त्रसँग निरन्तर सहकार्य भइरहेको आयोगले जनाएको छ ।