पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका का विभिन्न टोलमा जनता समाजवादी पार्टी (जसपा) का रामनरेश यादवले घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ७ अन्तर्गत कुमार टोल, गणेशमान चोक, अमर चोक लगायतका क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार यादवप्रति उल्लेख्य जनसमर्थन देखिएको छ । स्थानीय बासिन्दाबाट प्राप्त न्यानो स्वागत, आशिर्वाद र उत्साहले पर्सा–१ को जसपा चुनावी माहोल अझ तातो बनाएको छ ।
स्थानीय बासिन्दाले मधेसी समुदायको अधिकार, स्वाभिमान र समग्र क्षेत्रको समृद्धिका लागि यसपटक ‘छाता’ चुनाव चिह्नमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घर–घरमा पुगेका उम्मेदवार यादवलाई स्थानीयले “अब परिवर्तनको समय आएको छ” भन्दै उत्साहपूर्वक साथ दिएका थिए ।
कार्यक्रममा मतदाताले दुई–दुई पटक अवसर पाउँदा पनि अपेक्षित विकास गर्न नसक्ने पुराना प्रतिनिधिलाई बिदाइ गर्ने समय आएको प्रतिक्रिया दिएका छन् । यसपटक अधिकार, सुशासन र जवाफदेही नेतृत्वका लागि मतदान गर्ने उनीहरूको भनाइ थियो ।
उम्मेदवार यादवले जनताको विश्वास र समर्थनलाई ठूलो जिम्मेवारीका रूपमा लिँदै निर्वाचित भएमा मधेसी अधिकार, समान विकास, रोजगारी र सुशासनका मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।