प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा–१ क्षेत्रअन्तर्गत वीरगंज–३० लालपर्सामा आज प्रदीप यादवको घरदैलो तथा जनता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमा यादवले स्थानीय बासिन्दासँग भेट गर्दै आफ्नो निर्वाचन एजेन्डा प्रस्तुत गरे । उनले जनताको समस्या सुन्ने र समाधान गर्ने उद्देश्यका साथ क्षेत्रका विभिन्न टोल तथा वडा भ्रमण गरिरहेका छन् ।
यादवले आफ्नो मन्तव्यमा जनताको जीवनस्तर उकास्न, आधारभूत पूर्वाधार विकास गर्न, शिक्षा र स्वास्थ्य सेवा सुधार गर्न योजना रहेको बताए । “हामीले जनताको समस्यालाई प्राथमिकतामा राख्दै काम गर्नेछौं,” उनले भने ।
स्थानीय बासिन्दाहरूले पनि यादवको कार्यक्रममा उत्साहजनक सहभागिता देखाए । महिला, युवा र ज्येष्ठ नागरिकको उपस्थितिले कार्यक्रममा सकारात्मक माहोल सिर्जना गरेको थियो । उपस्थित स्थानीयहरूले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार नभएको गुनासो सुनाए ।
यादवले जनताको आवाज संसद्मा पुर्याउने र ठोस नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए । साथै उनले मतदातालाई चुनावी जिम्मेवारीपूर्वक मतदान गर्न र विधिवत् प्रक्रिया पालनामा जोड दिन पनि आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले ‘परिवर्तनको समय आएको’ भन्दै यादव र एमालेतर्फ आकर्षण देखाएका थिए । क्षेत्रीय समस्या बुझ्ने र समाधानका लागि काम गर्ने उनको प्रतिबद्धताले स्थानीय बासिन्दामा सकारात्मक प्रभाव पारेको जनाइएको छ ।