मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले आज (फागुन १७ गते) बिहान पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार बिहानैदेखि प्रसाईंको निवास वरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको थियो । करिब पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई प्रहरी कार्यालय लगिएको जनाइएको छ । पक्राउ पुर्जीमा सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।
यसअघि फागुन ४ गते काठमाडौँबाट पक्राउ परेका प्रसाईं फागुन १३ गते मात्र सर्वोच्च अदालत को आदेशमा थुनामुक्त भएका थिए। सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको केही दिनमै प्रहरीले नयाँ मुद्दामा अनुसन्धानका लागि पुनः हिरासतमा लिएको हो ।
हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय उनले चुनावी प्रक्रिया बिथोल्ने भूमिका खेल्न सक्ने आशङ्कामा प्रशासनले निगरानी बढाएको स्रोतको दाबी छ । यसअघि पनि पक्राउ र अदालतको आदेशमा रिहा हुने क्रम दोहोरिँदै आएको छ ।
प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।