पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटा को घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रुङटाले भेडियाहि वडा नम्बर–३१ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद र घरदैलो कार्यक्रम सम्पन्न गर्दै रुख छापमा मतदान गर्न आग्रह गरेका छन् ।
भेटघाटमा रुङटाले स्थानीय बासिन्दाका गुनासा, सुझाव र अपेक्षा ध्यानपूर्वक सुनेर विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा पूर्वाधार निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलो अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले भेडियाहि क्षेत्रमा चुनावी माहोल उत्साहपूर्ण बनेको छ ।
भेडियाहि टोलमा आयोजित भेटघाट कार्यक्रममा रुङटाले समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य अपरिहार्य रहेको धारणा राखे । स्थानीयवासीहरूले आफ्नो क्षेत्रको दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुङटाप्रति समर्थन जनाएका छन् ।
त्यसैगरी, रुङटाले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित महिला उद्यमशीलता प्रवर्द्धन गर्ने र आयआर्जनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिने बताए । उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन र महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे। रुङटाले भने,
“महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन । घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले उनीहरूको अवसर र पहुँच सुनिश्चित गरिनेछ ।”
यस्तै, रुङटाले युवा स्वरोजगार प्रवर्द्धन, कृषि आधुनिकीकरण, साना उद्योग विकास र स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणमा विशेष पहल गरिने बताए । आगामी निर्वाचनमा मतदाताले विकास, स्थायित्व र समृद्धिको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे ।