पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ को समर्थनमा सयौं युवाहरूको सहभागितामा भव्य मोटरसाइकल र्याली सम्पन्न भएको छ । जनमत पार्टी निकट युवा दस्ता तथा जेन्जि जनमत संघको आयोजनामा भएको उक्त र्यालीले क्षेत्रको चुनावी माहोल थप तातो बनाएको छ ।
शनिबार आयोजित र्याली वीरगंजका विभिन्न स्थान हुँदै क्षेत्रका १९ वटै वडाका प्रमुख चोक तथा बस्तीहरू परिक्रमा गरेको थियो । सहभागी युवाहरूले जनमत पार्टीको झण्डा, ब्यानर र नारा सहित उत्साहजनक उपस्थिति जनाउँदै उम्मेदवार सरार्फप्रति आफ्नो समर्थन प्रकट गरेका थिए । र्यालीमा सहभागीले “परिवर्तनका लागि जनमत”, “युवाको रोजाइ, ओमप्रकाश सरार्फ” लगायतका नारा लगाउँदै चुनावी वातावरण ऊर्जावान बनाएका थिए ।
आयोजक संस्थाका प्रतिनिधिहरूले युवाहरूको उल्लेखनीय सहभागिताले पर्सा–१ मा जनमत पार्टीप्रति बढ्दो आकर्षण र विश्वास झल्किएको बताएका छन् । उनीहरूले देश र क्षेत्रको समृद्धिका लागि सक्षम, प्रतिबद्ध र इमानदार नेतृत्व आवश्यक रहेको भन्दै सरार्फ नै त्यसका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरे ।
र्यालीमा सहभागी युवाहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि नयाँ सोच र ऊर्जासहितको नेतृत्व आवश्यक रहेको बताए। उनीहरूले पुराना राजनीतिक शैलीभन्दा फरक ढंगले जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्वको रूपमा सरार्फलाई अघि सारे ।
उम्मेदवार ओमप्रकाश सरार्फ ले युवाहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै युवाहरूलाई परिवर्तनका संवाहक भएको उल्लेख गरे । उनले युवाको ऊर्जा, क्षमता र सहभागितालाई विकासमा प्रयोग गर्ने आफ्नो स्पष्ट योजना रहेको बताउँदै पर्सा–१ लाई आर्थिक, शैक्षिक र पूर्वाधारको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।
जनमत पार्टीले पर्सा–१ मा घरदैलो, जनसम्पर्क, मोटरसाइकल र्याली तथा युवासँग प्रत्यक्ष अन्तरक्रिया जस्ता कार्यक्रममार्फत चुनावी अभियान तीव्र बनाउँदै गएको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा युवाहरूको सक्रिय सहभागिताले पार्टीको चुनावी अभियान थप सशक्त बन्दै गएको र यसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको स्थानीय राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।