राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले उनलाई भव्य स्वागत गरेका थिए । पूर्व वडाध्यक्ष समेत रहेका कानुले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डाबारे जानकारी गराएका थिए । घरदैलोका क्रममा उनले वीरगन्जको प्रमुख व्यापारिक केन्द्र आदर्शनगरलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे । “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ ।”
कानुले वीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगरपालिका र देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्र भए पनि विगतका सांसद र मन्त्रीहरूको बेवास्ताका कारण पछाडि परेको दाबी गरे । उनले सडक, पूर्वाधार तथा व्यापार–व्यवसायको अवस्था सुधार गर्न संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
निर्वाचित भएपछि योजनाबद्ध विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले पर्साको औद्योगिक सम्भावनालाई प्राथमिकतामा राखेर ठूला विकास आयोजना सञ्चालन गर्ने योजना सुनाए ।
मतदातासँग संवाद गर्दै कानुले भने, “अघिल्लो पटक माया गरेर वडाध्यक्ष बनाउनुभयो, यस पटक सांसदमा माया गर्नुहोस् । रास्वपालाई मत दिएर नयाँ युगको सुरुवात गरौँ ।”