प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्सामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
जिल्लाभर रहेका सबै मतदान केन्द्रमा मतदाताले उत्साहजनक सहभागिता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सामा कुल ३ लाख ७६ हजार ५ सय १३ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख ६४ हजार ४ सय २१ महिला, २ लाख १२ हजार ७७ पुरुष र १५ जना अन्य मतदाता रहेका छन् । जिल्लाभर १ सय ७६ मतदान स्थल र ४ सय ४१ मतदान केन्द्र मार्फत मतदान सम्पन्न भएको हो ।
पर्सा–१ मा ६३ हजार मत खसेकाे प्रक्षेपण
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा कुल ८१ हजार ६ सय ३८ मतदाता मध्ये करिब ६३ हजार मत खसेको मतदान अधिकृतको कार्यालयले प्रक्षेपण गरेको छ ।
यस क्षेत्रमा वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १९ वटा वडा पर्दछ । यहाँ ५० हजार ४ सय ६ जना पुरुष, ३९ हजार २ सय ३० जना महिला र २ जना अन्य गरी कुल ८१ हजार ६ सय ३८ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि १२ जना स्वतन्त्रसहित १८ वटा राजनीतिक दलका ३० जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । यस क्षेत्रमा नेकपा एमालेका प्रदीप यादव, नेपाली कांग्रेसका अनिल रुंगटा र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्तलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
पर्सा–२ मा करिब ६५ हजार मत खसेकाे प्रक्षेपण
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा कुल ९५ हजार १ सय २० मतदाता मध्ये करिब ६५ हजार मत खसेको जनाइएको छ ।
यस क्षेत्रमा वीरगञ्ज महानगरपालिकाका १३ वडा, बहुदरमाई नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ तथा पर्सागढी नगरपालिका पर्छन्। यहाँ ५३ हजार ७ सय १७ पुरुष, ४१ हजार ४ सय महिला र ३ जना अन्य गरी कुल ९५ हजार १ सय २० मतदाता रहेका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु, नेपाली कांग्रेसबाट अजय कुमार चौरसिया, नेकपा एमालेबाट रिमा कुमारी यादव, नेकपाबाट मनोज कुमार चौधरी, राप्रपाबाट वीना जैसवाल, जसपा नेपालबाट अशोक टेमानी, जनमत पार्टीबाट श्याम गुप्ता लगायत उम्मेदवार मैदानमा छन् ।
पर्सा–३ मा ५३ हजार मत खसेकाे प्रक्षेपण
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा कुल ९६ हजार ५ सय ४२ मतदाता मध्ये करिब ५३ हजार मत** खसेको जनाइएको छ ।
यस क्षेत्रमा पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्दवासिनी, जगरनाथपुर, पकहामैनपुर गाउँपालिका तथा पोखरिया र बहुदरमाई नगरपालिका पर्छन्। यहाँ ५४ हजार ८ सय ९४ पुरुष, ४१ हजार ६ सय ४४ महिला र ४ जना अन्य गरी ९६ हजार ५ सय ४२ मतदाता रहेका छन् ।
यस क्षेत्रमा ९ जना स्वतन्त्रसहित १४ राजनीतिक दलका २३ उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेबाट रुपेश कुमार पाण्डे, नेपाली कांग्रेसबाट सुरेन्द्र कुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामाकान्त प्रसाद चौरसिया र नेपाली कम्युनिष्ट पार्टीबाट छोटेलाल यादव प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
पर्सा–४ मा पनि उल्लेख्य मतदान ५३ हजार मत खसेकाे प्रक्षेपण
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा कुल ९५ हजार २ सय १३ मतदाता मध्ये करिब ५३ हजार मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा ठोरी गाउँपालिका, छिपहरमाई, धोविनी, जगरनाथपुर, जिराभवानी, कालीकामाई, पकहामैनपुर गाउँपालिका तथा पोखरिया नगरपालिका पर्छन्। यहाँ ५३ हजार ६० पुरुष, ४२ हजार १ सय ४७ महिला र ६ जना अन्य गरी ९५ हजार २ सय १३ मतदाता रहेका छन्
यस क्षेत्रमा ११ जना स्वतन्त्रसहित १२ राजनीतिक दलका २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट रमेश रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेक बहादुर शाक्य, नेकपा एमालेबाट जालिम मियाँ मंसुरी र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश चौधरी प्रमुख उम्मेदवारका रूपमा रहेका छन् ।
मतगणनाको तयारी पूरा
मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी पनि पूरा गरिएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
उनका अनुसार मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणनास्थललाई तारजालीले घेरिएको, सिसी क्यामेरा जडान गरिएको तथा कुकुरमार्फत सुरक्षा परीक्षण गरेर सुरक्षित बनाइएको छ । मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि निर्धारित समयमा मतगणना सुरु गरिने जनाइएको छ ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै प्रशासनले मतदातालाई धन्यवाद दिएको छ । अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ ।