वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । शुक्रवार बिहान करिब ९ बजे सम्पन्न सर्वदलीय बैठकपछि औपचारिक रूपमा मतगणना कार्य प्रारम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्ड, निर्देशिका तथा पूर्वतयारीका आधारमा मतगणना कार्य अघि बढाइएको छ । मतगणनालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाइएको प्रशासनले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले मतगणना कार्यलाई तीव्र र व्यवस्थित ढंगले अघि बढाइएको जानकारी दिँदै कुनै पनि प्रकारको अवरोध नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए । उनका अनुसार मतगणना स्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकतानुसार नेपाली सेनासमेत तयारी अवस्थामा राखिएको छ ।
मतगणना स्थलमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि, सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको छ । मतगणना प्रक्रियालाई पारदर्शी बनाउन प्रत्येक टेबलमा दलका प्रतिनिधिहरूलाई अवलोकनको व्यवस्था गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको छ भने त्यसपछि क्रमशः अन्य केन्द्रका मतपेटिकाहरू खोल्दै गणना गरिनेछ । मतगणनाका लागि अलग–अलग टेबलहरू व्यवस्था गरी कर्मचारी परिचालन गरिएको छ ।
पर्सा–३ अन्तर्गत रहेका विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिकाहरू कडा सुरक्षाबीच मतगणना स्थलमा राखिएको थियो । मतगणना सुरु भएसँगै स्थानीय बासिन्दा तथा राजनीतिक दलका कार्यकर्ताहरूमा परिणामको प्रतीक्षा बढेको देखिएको छ ।
प्रारम्भिक मत परिणाम केही घण्टाभित्र सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ भने मतगणना कार्य निरन्तर जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।