रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ ।
हालसम्म भएको मतगणनाअनुसार प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। यस क्षेत्रमा अहिलेसम्म १५ हजार ८२३ मत गणना भइसकेको छ भने निर्वाचनमा कुल १९ हजार १०६ मत खसेको थियो ।
प्रचण्डका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लिलामणि गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत प्राप्त गरेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत पाएका छन् ।
मतान्तर ठूलो रहेकाले रुकुम पूर्व–१ मा प्रचण्डको जित लगभग निश्चित भएको बताइएको छ ।