काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिणामअनुसार खत्रीले ११ हजार ४९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कविर राणा १ हजार ५०३ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत ३ हजार ११६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
अग्रता कायम गरेका रास्वपाका उम्मेदवार खत्री करिब २० वर्ष लामो पत्रकारिता पेशाबाट बिदा लिएर राजनीतिमा प्रवेश गरेका नेता हुन् ।
एमालेका सचिवसमेत रहेका बस्नेत भने अघिल्लो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए। तर २०७४ सालको निर्वाचनमा भने उनी यही क्षेत्रबाट विजयी भएका थिए ।
२०३१ साल माघमा भक्तपुरमा जन्मिएका महेश बस्नेत २०४९ सालमा नेकपा (एमाले)को साधारण सदस्य बनेका थिए। त्यसयता पार्टीभित्र सक्रिय राजनीति गर्दै आएका बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट नेताका रूपमा समेत चिनिन्छ ।
कानुन विषयमा स्नातकसम्म अध्ययन गरेका उनले २०५४ सालको स्थानीय निकाय निर्वाचनमा गुण्डु गाविसको अध्यक्षमा निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। हाल उनी सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।