गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा सबै मतपेटिका संकलन हुन ढिलाइ भएको कारण मतगणना सुरु हुन सकेको छैन ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका २३ मतदान केन्द्रबाट अझैसम्म मतपेटिका जिल्ला सदरमुकाम पुर्याउन सकिएको छैन । शुक्रवार यी मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको थियो। तर खराब मौसमका कारण सबै मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिए ।
प्रजिअ श्रेष्ठका अनुसार, “नौ वटा केन्द्रको मतपेटिका आइसकेको छ, १४ वटाको अझै बाँकी छ। मौसमले साथ नदिएपछि अरु फ्लाइट हुन सकेन ।”
उनले थपे, “नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका संकलन हुन बाँकी छ। हेलिकप्टर स्ट्यान्डबाइ राखेका छौँ, भोलि (शनिबार) मौसम सफा भए बिहानै लिएर आउँछौं ।”
मतगणना सुरु हुन नसक्दा गोरखा–१ को निर्वाचन क्षेत्रमा परिणाम सार्वजनिक हुने समय अझ केही ढिलाइ हुने अनुमान गरिएको छ ।