काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठान निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का नेता सूर्यबहादुर थापा क्षेत्री तेस्रो स्थानमा सीमित भएका छन् । अघिल्लो निर्वाचनमा विजयी भएका थापा यसपटक भने अपेक्षित मत प्राप्त गर्न नसक्दा पराजित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार थापाले १६ हजार ७१० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्द पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।
उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैद्य भने २७ हजार ४६९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
चुनावी अभियानका क्रममा विभिन्न स्थानमा उम्मेदवारहरूको स्वागत, सभासम्मेलन तथा जनसहभागिता उल्लेख्य देखिए पनि त्यो मतमा रूपान्तरण हुन नसक्दा परिणाम फरक आएको स्थानीय विश्लेषकहरू बताउँछन् ।
स्थानीय विकास, रोजगारी, सडक पूर्वाधार तथा कृषि क्षेत्रका समस्या यस क्षेत्रका प्रमुख चुनावी मुद्दा रहेका थिए। मतदाताले यिनै विषयलाई प्राथमिकतामा राख्दै मतदान गरेको स्थानीय नेताहरूको भनाइ छ ।
चुनावी परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रचार अभियान, मतदाता व्यवहार र चुनावी रणनीतिबारे व्यापक चर्चा सुरु भएको छ । विश्लेषकहरूका अनुसार चुनावी सभामा देखिने भीड, स्वागत तथा जनउत्साह मात्रले अन्तिम परिणाम सुनिश्चित नहुने तथ्य पुनः पुष्टि भएको छ ।