वीरगंज । वीरगंज मुख्य सडक विस्तारसम्बन्धी बहुप्रतीक्षित मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक भएको छ । पूर्ण पाठ सार्वजनिक भएसँगै त्रिभुवन राजमार्गअन्तर्गत पर्ने वीरगंज खण्डमा सडक विस्तार कार्य अघि बढाउने कानुनी आधार स्पष्ट भएको छ।
सर्वोच्च अदालतले राजमार्ग सीमासम्बन्धी महत्वपूर्ण व्याख्या गर्दै राजमार्गको केन्द्ररेखाबाट दायाँ–बायाँ २५.२५ मिटर क्षेत्रलाई राजमार्ग सीमा मानिने स्पष्ट गरेको छ। अदालतको यस व्याख्याले सडक विस्तारका क्रममा देखिँदै आएको कानुनी अन्योल हटाएको सरोकारवालाहरूले बताएका छन्।
अदालतका अनुसार उक्त सीमाभित्र निर्माण गरिएका घर, टहरा, कम्पाउण्डवाल, पसल तथा अन्य भौतिक संरचनाहरू सडक विस्तारका लागि हटाउन सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। यस निर्णयले राजमार्ग क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू व्यवस्थापन गर्न सम्बन्धित निकायलाई मार्गदर्शन गरेको छ।
वीरगंजको मुख्य सडक लामो समयदेखि साँघुरो, अव्यवस्थित पार्किङ, सवारी चाप र अतिक्रमणका कारण प्रभावित हुँदै आएको थियो । सडक विस्तार नहुँदा दैनिक सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको थियो ।
पूर्ण पाठ सार्वजनिक भएसँगै अब सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले आवश्यक प्रक्रिया पूरा गरी विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेका छन् । स्थानीय तहले पनि प्रभावित क्षेत्रको विवरण संकलन, संरचना मापन तथा मुआब्जा सम्बन्धी प्रक्रिया अघि बढाउने जनाएको छ ।
सडक विस्तारपछि वीरगञ्जको यातायात व्यवस्थापन सहज हुनुका साथै व्यापारिक गतिविधि, आपतकालीन सेवा प्रवाह र सहरी सौन्दर्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।