सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अशोककुमार चौधरीले नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारलाई सुनसरी–३ बाट पराजित गर्दै उनको ५० वर्षे राजनीतिक यात्रा लगभग पूर्णविराम लगाएका छन् ।
मतगणना अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी विजयी घोषित भए, भने गच्छदारले मात्र २० हजार ५०१ मत पाएका छन् । मतदाताले चौधरीलाई २६ हजार ९२० मतको फराकिलो अन्तरसहित विजयको माला उपहार दिएका छन्। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत पाई तेस्रो स्थान ओगटिन् ।
७२ वर्षीय गच्छदारको संसदीय राजनीतिक जीवनमा आफूलाई सधैं अब्बल खेलाडीका रूपमा प्रस्तुत गर्ने शैली रह्यो। पद, पैसा र प्रतिष्ठाका लागि उनले ‘साम, दाम, दण्ड, भेद’ सबै फर्मुला अपनाउने गरे पनि यसपटक ती सबै फर्मुला असफल बने । रास्वपाको ‘परिवर्तन’को मोडेलले स्थानीय मतदातामा प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ ।
सुनसरी–३ मा रहेका थारु–चौधरी बस्तीलाई आफ्नो भोट बैंक बनाउँदै गच्छदार ०४८ देखि ०७४ सम्म लगातार अपराजित रहँदै उपप्रधानमन्त्री र विभिन्न प्रभावशाली मन्त्रालयका मन्त्री बने । तर स्वास्थ्य, शिक्षा, सडक, कृषि, रोजगारी, नागरिकता र सुकुमवासीका समस्या समाधानमा उनले अपेक्षित काम नगरेको स्थानीयले गुनासो गरेका थिए ।
यस पटक चौधरीले मतदाताका घरदैलोमा पुगेर स्थानीय विकास, रोजगारी र परिवर्तनको सन्देश दिँदै व्यापक समर्थन जुटाएका थिए । त्यस्तै, गच्छदारका आफ्नै भतिजा वेदनारायण गच्छदारसँगको मतदाता मनोनयन विवादले पनि चुनावी परिणाममा ठूलो प्रभाव पारेको चर्चा छ ।
वेदनारायणले मेयरबाट दिएको राजीनामा पत्र उपमेयरको टेबलमा नपुगेकाले स्वीकृत हुनबाट जोगिएको र अन्ततः काका–भतिजबीच विवाद समाधान भएको बताइएको छ ।
सुनसरी–३ मा भएको यस मत परिणामले स्थानीय विकास र परिवर्तनको मागलाई स्पष्ट देखाएको विश्लेषकहरूले बताएका छन् ।