बारा । तेल उत्पादक देशहरूमा देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लाका पेट्रोल पम्पहरूमा सवारीसाधनको अस्वाभाविक भिड देखिएको छ ।
पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताहरू सवारीसाधनमा ‘फुल ट्याङ्की’ इन्धन भर्ने होडबाजीमा उत्रिएका हुन् । विशेषगरी मोटरसाइकल चालकहरू पेट्रोल पम्पमा लामबद्ध भएर इन्धन भर्ने दृश्य सर्वत्र देखिएको छ । सामाजिक सञ्जाल र मोबाइल सन्देशमार्फत इरान, इराक, इजरायल र अमेरिकाबीचको द्वन्द्वका कारण नेपालमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने हल्ला फैलिएको छ ।
विदेशमा युद्ध भइरहेको समाचारपछि इन्धन अभाव हुने डरले मोटरसाइकलमा तेल भर्न आएको परवानीपुर गाउँपालिका–४ का ब्रमेश पटेलले बताए। “मोबाइलमा तेल अभाव हुन सक्छ भन्ने सन्देश फैलिएकाले समयमै जोहो गर्न आएको हुँ,” उनले भने ।
यता नेपाल आयल निगम लिमिटेड, प्रादेशिक कार्यालय वीरगन्जले भने पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । कार्यालयका प्रमुख इन्जिनियर मोहनकुमार साहका अनुसार नेपालमा पेट्रोल, डिजेल तथा ग्यासको आपूर्ति नियमित भइरहेको छ र अभाव हुने कुनै सङ्केत छैन ।
उनका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा रहेका १११ वटा पेट्रोल पम्पमार्फत दैनिक करिब ८० देखि ९० किलोलिटर पेट्रोल र १८० देखि २०० किलोलिटर डिजेल बिक्री हुँदै आएको छ । तर पछिल्ला तीन–चार दिनयता सामान्य अवस्थाको तुलनामा इन्धनको बिक्री करिब दोब्बरले बढेको उनले जानकारी दिए ।
इन्जिनियर साहले भने, “सामाजिक सञ्जालमा फैलिएको हल्ला, निर्वाचनको समय तथा लगातारको सार्वजनिक बिदाका कारण माग केही बढेको देखिए पनि भण्डारण र आपूर्ति पर्याप्त छ। त्यसैले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन ।”