वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तले प्रतिनिधिसभा सदस्यमा आफूसहित जिल्लाका चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयपछि मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन् ।
पन्तले आफ्नो सन्देशमा चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने,
“पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता, कार्यकर्ता र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।”
पन्तले मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको दाबी पनि गरेका छन् । उनले थपे,
“तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ । आगामी दिनहरूमा निर्वाचित प्रतिनिधिहरूले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी लिनेछन्। यस यात्रामा सबैको सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता हुनेछ ।”
पर्सा जिल्लामा रहेका चार निर्वाचन क्षेत्रका विजयी उम्मेदवार यसप्रकार छन्:
- पर्सा–१: हरि पन्त, रास्वपा
- पर्सा–२: सुशील कुमार कानु, रास्वपा
- पर्सा–३: रमाकान्त चौरसिया, रास्वपा
- पर्सा–४: टेक बहादुर शाक्य, रास्वपा
समानुपातिक तर्फ पनि पर्सामा रास्वपा पहिलो पार्टी बनेको छ । राजनीतिक विश्लेषकहरूले यस निर्वाचनको परिणामलाई स्थानीय र राष्ट्रिय स्तरमा परिवर्तनको संकेतको रूपमा लिएका छन् । यस विजयले पार्टीको प्रभाव स्थानीय तहमा विस्तार गरेको र भ्रष्टाचार विरोधी अभियानलाई बल पुर्याउने अपेक्षा गरिएको छ । पार्टीका अन्य नेताहरूले पनि पन्तको सन्देशलाई समर्थन गर्दै आगामी कार्य योजनामा एकजुट रहने बताएका छन् ।