२८ फाल्गुन -पर्सा । औद्योगिक नगरी वीरगन्जले फोहोर व्यवस्थापनमा ऐतिहासिक फड्को मार्ने तयारी गरेको छ । महानगरपालिकाको डम्पिङ साइटमा निर्माण भइरहेको अत्याधुनिक प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेपछि अब वीरगन्जको फोहोर ‘समस्या’ मात्र नभई ‘स्रोत’ का रूपमा रूपान्तरण हुने भएको हो ।
महानगरलाई स्वच्छ, हरित तथा प्रदूषणमुक्त बनाउने दीर्घकालीन लक्ष्यअनुरूप अघि बढाइएको उक्त परियोजनाले दैनिक संकलन हुने करिब ६०–६५ टन फोहोरमध्ये २० मेट्रिकटन प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक ढंगले प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने क्षमता राख्नेछ । यो महत्वाकांक्षी परियोजना सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट नमुनाका रूपमा समेत हेरिएको छ ।
उक्त प्लान्ट **सूर्य नेपाल प्रा.लि.**को करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको हो । परियोजनाका लागि महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपालबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
गत बुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोलीले निर्माण स्थलको निरीक्षण गर्दै प्राविधिक पक्ष तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिएका थिए ।
निर्माण सम्पन्न भएपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरिनेछ भने यसको प्राविधिक व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले सम्हाल्ने गरी कार्यविभाजन गरिएको छ ।
सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताए । उनका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धताका साथ परियोजनामा सहकार्य गरेको हो ।
प्लान्ट सञ्चालनमा आएपछि प्लास्टिकजन्य प्रदूषणमा उल्लेख्य कमी आउने, डम्पिङ साइटको आयु बढ्ने तथा शहरको सुन्दरतामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
वैज्ञानिक वर्गीकरण र आधुनिक प्रशोधन प्रविधिमार्फत वीरगन्जले अब फोहोर व्यवस्थापनमा मुलुककै लागि उदाहरणीय मोडेल प्रस्तुत गर्ने तयारी गरेको महानगरपालिकाले जनाएको छ ।