सर्वोच्च अदालतले नेकपा (माओवादी) विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामा छानविन अघि बढाउन आदेश दिएको छ।
अदालतको आदेश अनुसार अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरीक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसहित अन्य व्यक्तिहरू विरुद्ध दर्ता भएको किटानी जाहेरीमाथि अनुसन्धान अघि बढाउनेछ।
कुमार पौडेलको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन्।
जाहेरीमाथि पर्याप्त अनुसन्धान नभएको भन्दै दुर्गादेवीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। करिब पाँच वर्षपछि बिहीबार न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो।
विश्लेषकहरूले यो अनुसन्धानले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)माथि राजनीतिक दबाब बढाउन सक्ने संकेत गरेको बताएका छन्। बादल अहिले एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा छन्। यदि उनी हिरासतमै राखेर अनुसन्धान गर्नु परेमा, संसदमा एमालेको संसदीय दल नेतृत्वमा असुविधा सिर्जना हुन सक्ने सम्भावना रहेको छ, किनभने पार्टीका अधिकांश पदाधिकारीले हालैको चुनावमा अप्ठ्यारो परिणाम भोगेका छन्।