सवारी साधन प्रयोगमा बढ्दो लापरबाही, तीव्र गति, सडकको अवस्था र सडक सचेतनाको कमीका कारण मधेस प्रदेशमा सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ।
पछिल्लो तीन वर्षमा प्रदेशका आठ जिल्लामा १,४०३ जनाले ज्यान गुमाएका छन् भने २९,६३० जना घाइते भएका छन्। सोही अवधिमा १८,२६७ वटा सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ।
मधेस प्रदेशमा मात्रै पछिल्लो तीन वर्षमा १७,८४४ वटा मोटरसाइकल दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंह का अनुसार, सडक दुर्घटना बढ्नुमा चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन र सुरक्षा सतर्कताको कमी मुख्य कारण रहेका छन्।
सिंहका अनुसार, सडकमा सवारीबीचको तीव्र प्रतिस्पर्धा, अनियन्त्रित गति, जिर्ण सडक, चालक र पैदल यात्रुको लापरवाही, सडक सचेतनाको कमी लगायत विविध कारणले दुर्घटना हुने गरेको छ।
पछिल्लो तीन वर्षमा ४४ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन भएपनि चालकहरूले सिकेका कुरा व्यवहारमा लागू गर्न नसकेको सिंहले बताए। हालै पाँच दिन अघि मात्र वीरगन्जबाट छुटेका दुई यात्रुबाहक बस सिमरास्थित सडकमा तीव्र गतिमा प्रतिस्पर्धा गर्दै गुडिरहेका भेटिएपछि ट्राफिक प्रहरीले दुबै बसलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका चालकलाई चेतावनी दिइ कारबाही गरिएको प्रवक्ता सिंहले जानकारी दिए।
प्रदेशभित्र पछिल्लो तीन वर्षमा मात्रै ५ लाख ३० हजारभन्दा बढी चालक ट्राफिक नियम उल्लंघनको कारण कारबाहीमा परेका छन्। यसबाट सरकारले ४७ करोड ९४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथ्यांक छ।
सिंहले चालकहरूलाई सचेत रहन, गति नियन्त्रण गर्ने र नियमको पालना गर्न आग्रह गर्दै भने कि दुर्घटना रोक्न सबैको संयम र जिम्मेवारी अपरिहार्य रहेको छ।