पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ बाट कांग्रेसका तर्फबाट आठौँ पटक उम्मेदवार बनेर पराजित भएका रिजालले संसदीय चुनावबाट सन्यास लिएका छन ।
२०४८ सालदेखि हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बनेका रिजालले चार पटक विजय हासिल गरेका छन् भने चार पटक हार व्यहोरेका छन्। उनले २०४८, २०५१, २०६४ र २०७९ मा सांसदमा निर्वाचित भएका थिए भने २०५६, २०७०, २०७४ र हालैको २१ फागुन २०८२ को निर्वाचनमा पराजय भोगेका थिए।
शनिबार जगरनाथपुर गाउँपालिका–५ मसिहानी मा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले अब संसदीय चुनावमा प्रतिष्पर्धा नगर्ने घोषणा गरे। उनले भने, “आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ। युवा पुस्तालाई साथ र समर्थन रहन्छ। तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा म सधैं लागि रहनेछु।”
रिजालले पर्सा क्षेत्र नम्बर–४ को विकास र समृद्धिका साथै यहाँका जनताको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो पहल जारी राख्ने प्रतिबद्धता पनि जनाए। उनले फागुन २१ को निर्वाचनमा आफू र कांग्रेसलाई मत दिएका मतदाताप्रति आभार व्यक्त गर्दै परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेस कार्यकर्ता तथा समर्थकप्रति कुनै गुनासो नरहेको उल्लेख गरे।
साथै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई लक्षित गर्दै भने, “मालिक बन्ने कोशिस नगर्नु होला, जनताको सेवक बनेर काम गर्नु होला। म तपाईंहरूको साथमै छु र रहन्छु।”
कांग्रेस क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता बशिष्ठ नारायण कुर्मी र क्षेत्रीय सचिव बलिष्टर अहमदलगायतको सहभागिता रहेको थियो।