मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने उल्लेख गर्दै नेपालमा मात्र प्रदेश सरकारहरूले यस्तो कठिन स्थिति भोगिरहेको बताउनुभयो।
उहाँले संविधानले परिकल्पना गरेको अधिकार अझै पूर्ण रूपमा प्रदेशले पाएको छैन भनी गुनासो व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जनकपुर–तिरहुतिया गाछीमा “अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू” भन्ने अभिव्यक्तिको स्मरण गर्दै प्रदेशले नमागीकन अधिकार दिन खोजेकोमा शाहलाई धन्यवादसमेत दिनुभयो।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्तै दयनिय रहेको बताउँदै माओवादी द्वन्द्वकालमा क्षतिग्रस्त भवनहरूमा समेत प्रहरीहरू अहिले कार्यरत रहेको अवस्था सुधार गर्न आवश्यक रहेको औंल्याउनुभयो।
उहाँले ‘जेन–जी’ आन्दोलनका क्रममा प्रहरीका सवारी साधनहरू जलाइएर नष्ट भएको उल्लेख गर्दै त्यसको पूर्ति गर्नु प्रदेश सरकारको दायित्व रहेको पनि स्पष्ट पार्नुभयो। सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गरिरहेको जानकारी पनि मुख्यमन्त्री यादवले दिनुभयो।
मुख्यमन्त्री यादवले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा निकायले खेलेको भुमिकाको उच्च प्रशंसा गर्नुभयो।