समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
प्रवक्ता झाले पार्टी सभापतिको निर्देशनअनुसार आइतबार सचिवालय बैठक बस्ने तय भएको बताए। उनका अनुसार बैठकका दुईवटा मुख्य कार्यसूची रहेका छन्। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्नेछ। साथै निर्वाचन परिणाम, सरकार गठन लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
यसअघि सचिवालय बैठक शनिबार दिउँसोका लागि तय गरिएको भए पनि अन्तिम समयमा आजका लागि सारिएको थियो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेख्य सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ स्थानमा जित हासिल गरेको र समानुपातिकतर्फ ५७ जना सांसद निर्वाचित हुने बताइएको छ।
निर्वाचन आयोगले दलहरूलाई आजसम्म समानुपातिक उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।