भक्तपुर चाँगुनारायणका ३५ वर्षीय युवक पाँच वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सुरक्षा गार्डको काम गर्दै आएका छन् । उनी हाल इरान–अमेरिका–इस्राइल द्वन्द्वको कारण तनावमा छन् ।
गत फेब्रुअरी २८ देखि सुरु भएको लडाइँको दोस्रो दिन आबुधावी विमानस्थल क्षेत्रमा सुरक्षा गार्डका रूपमा काम गर्ने २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको थियो । त्यसबेला उनी सुरक्षा दिन आएका थिए ।
आफूले सुरक्षा दिने स्कुल मार्च २२ सम्म बन्द भएकोले फुर्सदिला यी युवकले बोटिम एपमार्फत भने,
“नेपालमा घरपरिवार तथा आफन्त निकै चिन्तित छन्, तर हामी यहाँ सुरक्षित छौं । मिसाइल डिफेन्स सिस्टमले राम्रो काम गरिरहेको छ । मिसाइल आक्रमण हुने बित्तिकै मोबाइलमा इमरजेन्सी अलार्म बज्छ र हामी सुरक्षित स्थानमा बस्छौं ।”
डर र त्रासबीच काम
आबुधावी, दुबई र शारजहाँमा बसोबास गर्ने नेपाली कामदार पनि तनावमा छन् । युएईमा ७ लाखभन्दा बढी नेपाली कामदार रोजगारीमा छन् । खाडी क्षेत्रमा कतार, साउदी अरेबिया, ओमान, बहराइन, इराक लगायत देशमा काम गर्ने नेपाली समेत जोड्दा संख्या करिब १९ लाख पुग्छ। उत्तर अफ्रिकासँग जोडिने देशहरू समेत गन्ने हो भने यो संख्या २५ लाख पुग्ने परराष्ट्र मन्त्रालयको अनुमान छ ।
आबुधावीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार, विगत दुई सातादेखि जारी इरानी हमलाबीच सहज जीवनयापन गर्न केही कठिन भए पनि अधिकांश बिस्तारै अभ्यस्त हुँदै छन् ।
इरानले युएईका अमेरिकी सैन्य अखडालाई लक्ष्य गरी झन्डै ३०० मिसाइल र १५०० भन्दा बढी ड्रोन हमला गरिसकेको छ । तर सुरक्षा प्रणाली निकै राम्रो भएकाले दैनिक काममा समस्या नभएको अधिकारीले बताए ।
दुबईको अवस्था
युएईको दुबई सहरमा करिब ३ लाख नेपाली कामदार कार्यरत छन् । दुबई पर्यटन, व्यापार, मनोरञ्जन र व्यवसायका लागि प्रख्यात छ ।
सुरक्षा गार्ड दिलु विरही कान्छा भन्छन्,
“दुबईको अवस्था सामान्य छैन । हिजो सेन्ट्रल मलमा ड्रोन हमलापछि आगो लागेको थियो । मिसाइल आइरहन्छ र त्यसलाई निस्क्रिय बनाउने क्रममा आकाशबाट केही टुक्रा खस्ने डर हुन्छ। त्यस बेला सबैलाई सुरक्षित आश्रय लिन सूचना दिइन्छ ।”
दुबईका अधिकांश नागरिक घर वा कार्यालयभित्रै बसिरहेका छन्। तर नेपाली कामदारहरू आफ्नो कार्यक्षेत्रमा खटिन बाध्य छन् ।
सामाजिक सञ्जाल र भ्रामक सूचना
इरान युद्धको समयमा सामाजिक सञ्जालमा भ्रामक सूचना र झुटा फोटो/भिडिओ फैलाउने क्रम बढेको छ । यसले विदेशी कामदार र उनका परिवारलाई चिन्तित बनाएको छ ।
युएई सरकारले भ्रामक सूचना फैलाउने १० जना विदेशी कामदारविरुद्ध आपराधिक मुद्दा चलाएको छ । सार्वजनिक स्थलमा फोटो/भिडिओ लिएर सामाजिक सञ्जालमा झुटा विवरण दिने ४५ जना पक्राउ परेका छन् ।
आबुधावीस्थित नेपाली दूतावासका अधिकारीले भने,
“नेपालमा जस्तो मनलाग्दी भ्रामक सूचना फैलाउन पाइँदैन। युएई सरकारले तुरून्त कानुनी कारबाही गर्छ र पुलिसले निरन्तर निगरानी गर्दै छ ।”
त्यसैले समाचार तयार गर्दा अधिकांश नेपालीले आफ्नो परिचय खुलाउन चाहेका छैनन् ।