नेपाली कांग्रेसले पाएको २० सिटमा नेताका परिवार, आफन्त र पटक–पटक मन्त्री भइसकेकाहरूको बाहुल्यता देखिएपछि समाजिक सञ्जालमा व्यापक विराेध भइरहेको छ ।
सूचीअनुसार १५ महिला र ५ पुरुष सांसदको नाम पठाइएको छ । जसमा गगन थापाका ससुरा बादेखी पुर्वराष्ट्रपतिका छाेरा समेतलाई राखेपछि समाजिक सञ्जालमा टिकाटिप्पणी शुरू भएकाे छ ।
समानुपातिक प्रणालीमार्फत खसआर्य पुरुषतर्फ सिफारिस भएका अर्जुननरसिंह केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन् । ७८ वर्षीय केसी पटक पटक सांसद र मन्त्री भइसकेका छन् र समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेतामध्ये एक मानिन्छन् । उनले २०३८ सालमा राष्ट्रिय पञ्चायतबाट निर्वाचित भई राज्यमन्त्री बनेका थिए । २०४५ सालमा जिल्ला पञ्चायत सभापति र २०४८, २०५१, २०७० र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका केसी अहिले समानुपातिक सांसद बन्ने क्रममै आलोचना बटुलिरहेका छन् ।
मधेसी कोटाबाट सिफारिस भएका डा. चन्द्रमोहन यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवका सपुत्र हुन् र उनी पनि यसअघि सांसद भइसकेका व्यक्ति हुन् । खसआर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी पत्नी हुन् भने रुक्मिणीदेवी कोइराला डा.शेखर कोइरालाकी पत्नी हुन उनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहिसकेकी छन् । त्यसैगरी बिजयकुमार गच्छदारकी पत्नी प्रमिला कुमारी गच्छदार, बिमलेन्द्र निधिकी भान्जी निनु कुमारी कर्ण र स्व नवीन्द्रराज जोशीकी पत्नी गंगालक्ष्मी अवाल समानुपातिकमा परेका छन् ।
समानुपातिकमा आदिवासी जनजाति कोटाबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन् । खस आर्य कोटाबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया छन् । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेसी कोटाबाट डा. चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा मुस्लिम र थारु कोटाबाट क्रमशः साहजान खातुन र प्रमिलाकुमारी गच्छदार सिफारिस भएका छन् ।
कांग्रेस भित्र समानुपातिक सूचीले नेताका परिवार र अनुभवी नेताको बाहुल्यता देखाएको हुँदा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू भइरहेको छ ।